संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको बहस सम्पन्न 

विर्तामोड, १३ असोज ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय बहस सम्पन्न भएको छ ।
महासभाका अध्यक्ष खलिलुर रहमानका अनुसार बहसमा १९४ वटा प्रतिनिधिमण्डलले सहभागिता जनाएका थिए । सहभागीमध्ये ११३ जना राष्ट्रप्रमुख तथा सरकार प्रमुख, एक जना राजकुमार, ११ जना उपराष्ट्रपति, सात जना उपप्रधानमन्त्री र ४८ जना मन्त्री रहेका थिए ।
महासभाको बहसमा विश्व शान्ति, दिगो विकास, मानवअधिकार, संयुक्त राष्ट्रसङ्घीय सुधार तथा आगामी महासचिवको चयनलगायतका विषयमा छलफल भएको अध्यक्ष रहमानले बताउनुभयो ।
उहाँका अनुसार अघिल्लो महासभामा तुलनात्मक रूपमा कम प्राथमिकतामा रहेको कृत्रिम बुद्धिमत्ता यसपटकको छलफलको प्रमुख विषय बनेको थियो । प्रविधिको विकासलाई मानवताको हितमा प्रयोग गर्ने र त्यसलाई प्रभावकारी रूपमा नियमन गर्ने विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो ।
यस वर्षको महासभाको मुख्य विषय ‘विश्वास पुनस्र्थापना’ रहेको थियो । समापन मन्तव्यमा अध्यक्ष रहमानले शान्ति त्याग्न नहुने, दिगो विकासप्रति प्रतिबद्ध रहनुपर्ने र मानवअधिकारका सिद्धान्तको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्राविधिक रूपान्तरणलाई मानवताको सेवामा प्रयोग गर्दै संयुक्त राष्ट्रसङ्घमा अर्थपूर्ण, प्रतिनिधिमूलक र निष्पक्ष सुधारमार्फत विश्वव्यापी विश्वास पुनस्र्थापित गर्न आह्वान गर्नुभयो । ०००००
 

प्रतिकृया दिनुहोस