चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो 


बिर्तामोड, १६ असोज । 

चाडपर्व नजिकिएसँगै सुनसरीको धरानस्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट किसान र व्यापारी खसीबोका खरिदबिक्रीका लागि धरान आउने क्रम बढेको हो । धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा बिहीबार र शुक्रबार विशेष रूपमा खसीबोकाको बजार लाग्ने गरेको छ । यहाँ दैनिक उपभोग्य वस्तुका साथै खसीबोकाको समेत किनबेच हुँदै आएको छ । धरान–१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आउनुभएको छ । उहाँले आफ्नै घरमा खसीबोका पाल्नुका साथै धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गरेर ल्याएका खसीबोका बिक्री गर्दै आउनुभएको छ । यही व्यवसायबाट घरखर्च चलाउन सहज भएको उहाँले बताउनुभयो । त्यस्तै, मोरङको कानेपोखरीका व्यवसायी चन्द्र खड्काले २३ वर्षदेखि खसीबोकाको कारोबार गर्दै आउनुभएको छ । उहाँ प्रत्येक साता धरान आएर एक पटकमा एक सयदेखि एक सय ५० वटासम्म खसीबोका खरिद गर्ने गर्नुहुन्छ । धरानबाट खरिद गरिएका खसीबोका काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायत सहरमा बिक्री हुने गरेका छन् । 
धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार बजारमा सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन् । दसैँ र तिहारजस्ता चाडपर्वका समयमा भने साप्ताहिक कारोबार १० हजारभन्दा बढी पुग्ने गरेको छ । आर्थिक वर्ष २०८२÷८३ मा बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब तीन अर्ब रुपैयाँको कारोबार भएको थियो। गत वर्षको चाडपर्वमा मात्रै ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यस वर्ष अघिल्ला वर्षको तुलनामा खसीबोकाको कारोबार १५ प्रतिशतले वृद्धि भइसकेको र कारोबार थप बढ्ने अपेक्षा गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो । कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको धरान कृषि उपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारी प्रवद्र्धनमा समेत योगदान पु¥याउँदै आएको छ । 
 

प्रतिकृया दिनुहोस