राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु 

काठमाडौँ, १६ असोज ।
काठमाडौँको नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ आजदेखि सुरु भएको छ ।
‘इनोभेसन फर इम्प्याक्ट’ नाराका साथ आयोजना गरिएको ह्याकाथनको चौथो संस्करणमा देशभरका २८ शैक्षिक संस्थाका ६७ प्रतियोगी सहभागी छन् । प्रतियोगिताका लागि एक सय ६० टोलीले आवेदन दिएका थिए भने अनलाइन मूल्याङ्कनपछि २० टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीले नेपालका सामाजिक तथा सार्वजनिक समस्याको सूचना प्रविधिमा आधारित समाधान विकास गर्नेछन् । यस वर्ष जलवायु परिवर्तन, उत्थानशीलता तथा दिगोपना, पर्यटन, ई–गभर्नेन्स तथा स्मार्ट सार्वजनिक सेवा, स्मार्ट सहरी यातायात तथा सडक सुरक्षा र फिनटेक तथा डिजिटल वित्तीय नवप्रवर्तनलाई मुख्य विषय बनाइएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेले अध्ययनसँगै समाजका समस्या समाधान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले कक्षाकोठामा सिकेको ज्ञानलाई समाजका वास्तविक समस्यासँग जोड्न ह्याकाथन उपयोगी हुने बताउनुभयो ।
कार्यक्रम संयोजक नवराज जोशीका अनुसार ४८ घण्टाको अवधिमा सहभागी टोलीले समस्या पहिचान, समाधानको नमुना तयार गरी निर्णायकसमक्ष प्रस्तुत गर्नेछन् । प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस