नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न 

ललितपुर, ३० असोज ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न भएको छ ।
कांग्रेसको १५ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मतगणना आज बिहान सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।
मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै यही असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको उहाँले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।
त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारू तर्फको मतगणना पनि राति अबेर सकिएको उहाँले जानकारी दिनुभयो । अहिले सबैको मतपरिणाम रुजु गर्ने काम सकिएकाले सबै नतिजा सार्वजनिक गरिएको  छ । अन्य पदहरूको भने यसअघि नै गणना सम्पन्न भइसकेको थियो ।  मतगणना कार्य झण्डै एक हप्तामा सकिएको हो । राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै घोषणा भएको थियो ।
अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बिपीनगर, सानेपामा गरिएको थियो । १४ औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिनुभयो ।
सदस्य सचिव कटुवालका अनुसार गणना सुरू भएकै दिनदेखि दिन र रातमा झण्डै २५ समूह बनाएर गणना गराइएको थियो । मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सिर्जना नभएको र सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उहाँको भनाइ छ । 
यस पटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको उहाँले जानकारी दिनुभयो । कूल २२९ पदका लागि भएको थियो भने हरेक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।
निर्वाचित पदाधिकारी तथा सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम भने दसैँलगत्तै गरिने जानकारी दिइएको छ । ०००००
 

प्रतिकृया दिनुहोस