सरकारका विभिन्न निकायमा ६११ जनाको नियुक्ति
काठमाडौँ, ३० असोज ।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि विभिन्न सरकारी निकायमा रिक्त पदमा ६११ जनाको नियुक्ति गरेको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार ८० वटा निकायमा ४१९ जनाको नियुक्ति तथा पदपूर्ति भएको छ । त्यस्तै, मन्त्रिपरिषद्को निर्णयबाट १४ जना र विश्वविद्यालय, आयोग तथा प्रतिष्ठानमा १७८ जनाको नियुक्ति भएको छ ।
मन्त्रालयगत रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सबैभन्दा बढी १५९ जना नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत ८२ जना र शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत ७० जनाको नियुक्ति भएको सरकारले जनाएको छ ।
यसैबीच, असोज २५ देखि २९ गतेसम्म हेलो सरकारमा ७८२ वटा गुनासा प्राप्त भएका छन् । श्रमिकको तलब, दसैँ भत्ता, ग्यास अभाव, सवारीसाधनको भाडा वृद्धि, अनलाइन ठगी र भ्रष्टाचारसम्बन्धी उजुरी प्राप्त भएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । सो अवधिमा ९०२ वटा गुनासा फछ्र्योट र एक हजार नौ वटा गुनासा समाधान गरिएको जनाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले चाडपर्वका बेला हुन सक्ने कालोबजारी तथा अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न चार वटा अनुगमन टोली परिचालन गरेको छ। त्यस्तै, कर्मचारीको आचारसंहिता अनुगमनका क्रममा समय पालना नगर्ने तथा तोकिएको पोसाक नलगाउने ७१४ कर्मचारीमाथि कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
सरकारका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १७ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । उक्त कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ । ०००००










प्रतिकृया दिनुहोस