गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा यदुनाथ आचार्यविरुद्ध मुद्दा दायर
बिर्तामोड, १७ कार्तिक ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालयमा विभिन्न पदमा कार्यरत रहँदा पदको दुरुपयोग गरी आचार्यले ९ करोड ७२ लाख ७१ हजार ९ सय ९८ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ ।
आयोगका अनुसार २०५४ साल माघमा सरकारी सेवामा प्रवेश गरेका आचार्यले २०८० साल मंसिर २१ गतेसम्मको अवधिमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्नुभएको हो । उहाँले खोटाङको जिल्ला विकास समितिमा गाविस सचिवका रूपमा सरकारी सेवा सुरु गर्नुभएको थियो ।
अनुसन्धानका क्रममा आचार्य र उहाँको परिवारको वैधानिक आम्दानी ६ करोड २५ लाख ६३ हजार रुपैयाँभन्दा बढी देखिएको छ । तर सोही अवधिमा जग्गा तथा घरजग्गा खरिद, कम्पनीमा लगानी, सवारीसाधन खरिद, सेयर खरिद र ऋण भुक्तानीलगायतमा १५ करोड ९८ लाख ३५ हजार रुपैयाँभन्दा बढी खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ ।
आम्दानीभन्दा खर्च र लगानी बढी देखिएपछि ९ करोड ७२ लाखभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको अख्तियारको निष्कर्ष छ ।
आयोगका अनुसार आचार्यले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती ललिता राजभण्डारी तथा परिवारका अन्य सदस्यको नाममा राख्नुका साथै विभिन्न व्यक्ति र कम्पनीमार्फत खरिदबिक्री तथा लगानी गर्नुभएको थियो । सम्पत्तिको वास्तविक स्रोत लुकाउन तहकीकरण र एकीकरणसमेत गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।






.jpeg)


.jpeg)


प्रतिकृया दिनुहोस