सरकारको कार्यशैली र सुशासनमाथि नेकपाको प्रश्न 

काठमाडौं, १८ कात्तिक । 
नेपाली कम्युनिस्ट पार्टीले सरकारको कार्यशैली, सुशासन, मानव अधिकार, प्रहरी प्रशासनको प्रयोग र न्यायालयको निष्पक्षतामाथि प्रश्न उठाएको छ ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा पार्टीका तर्फबाट बोल्दै सांसद बलावती शर्माले पत्रकारदेखि न्यायाधीशसम्म त्रसित हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै सरकार कहाँबाट सञ्चालित छ भन्ने प्रश्न गर्नुभएको हो ।
उहाँले सरकारका निर्णय र कामकारबाही पारदर्शी नभएको, राज्यका निकायको दुरुपयोग भइरहेको तथा नागरिक, कर्मचारी, व्यवसायी र राजनीतिक दलका नेतासमेत असुरक्षित महसुस गरिरहेको आरोप लगाउनुभयो ।
प्रहरीले सञ्चारमाध्यममा प्रवेश गरी हस्तक्षेप गर्ने, प्रहरी प्रशासनमा राजनीतिक दबाब पर्ने र कर्मचारीलाई जुनसुकै बेला हटाउन वा नियुक्त गर्न सकिने अवस्थाले राज्यप्रति नागरिकको विश्वास कमजोर बनाएको उहाँको भनाइ थियो ।
सिँचाइ तथा सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुखलाई पक्राउ गरी दुई दिन थुनिएको घटनाप्रति आपत्ति जनाउँदै शर्माले गल्ती गरेको भए पनि कानुनी प्रक्रियाअनुसार कारबाही हुनुपर्ने बताउनुभयो ।
उहाँले इनाम सापकोटा प्रकरणमा थुनामा रहेका व्यक्तिको अडियो सार्वजनिक भएको विषय, प्रधानमन्त्रीका सल्लाहकारको घरमा मोबाइल भेटिएको भनिएको विवरण तथा मन्त्रीहरूसँग जोडिएका सार्वजनिक तस्वीरबारे पनि सरकारसँग जवाफ माग्नुभयो ।
त्यस्तै, सर्वोच्च अदालतका प्रधानन्यायाधीशदेखि न्यायाधीशसम्ममाथि उठेका प्रश्नको निष्पक्ष छानबिन गर्नुपर्ने उहाँको माग थियो । दोषी देखिए कारबाही हुनुपर्ने तर छानबिनका नाममा कसैलाई विस्थापित गर्ने वा सबैलाई एउटै डालोमा राखेर आरोप लगाउने काम गर्न नहुने उहाँले बताउनुभयो ।
सरकारले राज्यका निकाय प्रयोग गरेर नागरिक र सञ्चार क्षेत्रलाई त्रसित बनाउने प्रवृत्ति रोक्नुपर्ने तथा शासन सञ्चालनमा पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा सांसद शर्माले जोड दिनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस