डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै
काठमाडौँ, २६ साउन ।
नेपालमा डिजिटल अर्थतन्त्रको दायरा पछिल्लो समय फराकिलो बन्दै गएको विज्ञहरूले बताएका छन् ।
वित्तीय प्रविधि अर्थात् फिनटेक र डिजिटल भुक्तानीमा मात्र सीमित रहेको डिजिटल अर्थतन्त्र अहिले कन्टेन्ट क्रिएसन, इन्फ्लुएन्सर, गिग इकोनोमी, एल्गोरिदम तथा नयाँ प्रविधिमा आधारित व्यवसायसम्म विस्तार भइरहेको विज्ञहरूको भनाइ छ ।
राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको डिजिटल अर्थतन्त्रसम्बन्धी छलफलमा विज्ञ रमाकान्त पाण्डेले डिजिटल प्रविधिको विकाससँगै नयाँ प्रकारका व्यवसाय र रोजगारीका अवसर सिर्जना भइरहेको बताउनुभयो ।
उहाँका अनुसार कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरका गतिविधिले समेत बजार र अर्थतन्त्रमा प्रभाव पार्न थालेका छन् ।
अर्का विज्ञ दिनेश विष्टले डिजिटल अर्थतन्त्रमा नेपालको भविष्य राम्रो भए पनि डिजिटल पूर्वाधार, फाइभजी नेटवर्क र कानुनी संरचनामा थप सुधार आवश्यक रहेको बताउनुभयो ।
उहाँले सरकारी तथा निजी निकायबीच डेटा आदानप्रदान सहज बनाउन डिजिटल सार्वजनिक पूर्वाधार र डेटा एक्सचेन्ज प्लेटफर्म निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । यस्तो व्यवस्था गर्न सके कम्पनी दर्ता, बैंकिङ तथा सरकारी सेवामा नागरिकले पटक–पटक एउटै विवरण बुझाउनुपर्ने बाध्यता हटाउन सकिने उहाँको भनाइ छ ।
सहभागीहरूले डिजिटल अर्थतन्त्रको विकाससँगै व्यक्तिगत डेटा सुरक्षा, अन्तरसरकारी डेटा आदानप्रदान, डिजिटल सुशासन तथा स्पष्ट कानुनी संरचनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।
विज्ञहरूले प्रविधि र पूर्वाधारसँगै नागरिकको डेटा सुरक्षित हुने विश्वासिलो प्रणाली निर्माण गर्न सके डिजिटल अर्थतन्त्रले नेपालमा नयाँ व्यवसाय, रोजगारी र आर्थिक गतिविधिको महत्वपूर्ण आधार बन्न सक्ने बताएका छन् । ०००००












प्रतिकृया दिनुहोस