सुदूरपश्चिमको औद्योगिक विकासको आशा दैजी औद्योगिक क्षेत्र अन्योलमा
महेन्द्रनगर, २७ साउन ।
सुदूरपश्चिमको औद्योगिक विकासको महत्वपूर्ण आधार मानिएको कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र स्थापना अझै अन्योलमा परेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुनमा शिलान्यास गर्नुभएको औद्योगिक क्षेत्रको काम रुख कटान तथा जग्गा भोगाधिकारको प्रक्रियामा अल्झिएको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार लगातार दुई आर्थिक वर्षदेखि औद्योगिक क्षेत्र स्थापनाका लागि संघीय सरकारबाट बजेट आएको छैन । चालु आर्थिक वर्षमा पहुँचमार्गका लागि दुई करोड ५० लाख रुपैयाँ विनियोजन भए पनि औद्योगिक क्षेत्र निर्माणका लागि बजेट छुट्याइएको छैन । रुख कटान, जग्गा प्रयोगलगायतका कामका लागि भने आन्तरिक बजेट रहेको जनाइएको छ ।
औद्योगिक क्षेत्रका लागि आवश्यक रुख कटान अनुमति र जग्गा भोगाधिकारसम्बन्धी फाइल वन मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुग्नुपर्ने भए पनि प्रक्रियामै रोकिएको अधिकारीहरूले बताएका छन् । २०७९ फागुनमा बेदकोट–२ मा सम्पर्क कार्यालय स्थापना गरिए पनि कार्यालय कर्मचारीविहीन छ ।
विसं २०५२ मै प्रस्ताव भएको दैजी–छेला औद्योगिक क्षेत्रका लागि सुरुमा ३४५ बिघा र पछि १३६ दशमलव ५९ हेक्टर अर्थात् करिब २०२ बिघा क्षेत्रफल प्रस्ताव गरिएको छ । स्थानीय तह र निजी क्षेत्रले औद्योगिक क्षेत्र स्थापनाले रोजगारी सिर्जना गर्नुका साथै सुदूरपश्चिमको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भन्दै काम तत्काल अघि बढाउन माग गरेका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घले शिलान्यास गरेर वर्षौँसम्म काम अघि नबढ्नु दुःखद् भएको जनाएको छ । दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माण अघि बढिरहेको अवस्थामा दैजी औद्योगिक क्षेत्र पनि शीघ्र सञ्चालनमा ल्याउन सके कञ्चनपुरलाई सुदूरपश्चिमको आर्थिक केन्द्रका रूपमा विकास गर्न सकिने निजी क्षेत्रको भनाइ छ । ०००००



.jpeg)








प्रतिकृया दिनुहोस