रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते
बिर्तामोड, २८ साउन ।
रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा २ जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका छन् ।
गए राति करिब ८ः४० बजे माथिबाट पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन् । घटनाको खबर राति ९ः३० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। कमलबहादुर पुन मगरसहित मानिस तथा चौपाया पहिरोमा पुरिएको खुलेको छ । राति ११ः५५ बजे स्थानीय समेतको सहयोगमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरूलाई उपचारको लागि अस्पताल पठाउने पहल भइरहेको छ ।
त्यसैगरी, १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर पहिरोमा पुरिएको अवस्थामा मृत फेला परेका छन् ।
थप उद्धारका लागि आज बिहान जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित एसओसीओ समेतको प्रहरी टोली घटनास्थलतर्फ गएका छन् । रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसमेत घटनास्थल पुगेका छन्। घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ ।
प्रारम्भिक विवरणअनुसार पहिरोमा पुरिएका मानिसको संख्या १० जना पुगेको खुलेको छ भने घटनास्थलमा सञ्चार सम्पर्क नहुँदा थप विवरण आउन सकेको छैन ।










प्रतिकृया दिनुहोस