सुदूरपश्चिमका मुख्यमन्त्री शाहमाथि विश्वासको मत वा राजीनामाको दबाब
बिर्तामोड, २८ साउन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सरकार जोगाउने वा राजीनामा दिने विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्दैछ ।
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज अन्तिम दिन हो ।
मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारीस्वरूप प्रदेशसभा आह्वान गर्न सभामुख भीम भण्डारीलाई पत्र पठाइसक्नुभएको छ । प्रदेशसभाको बैठक आज साँझ ५ बजे बोलाउने विषयमा कार्यव्यवस्था परामर्श समितिमा समेत छलफल भएको छ ।
५३ सदस्यीय प्रदेशसभामा सरकार जोगाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। तर मुख्यमन्त्री शाहसँग कांग्रेसका १८ सांसद मात्रै छन्। त्यसमध्ये प्रकाश देउवा हाल अमेरिकामा हुनुहुन्छ । सरकार जोगाउन कांग्रेसबाहेक थप १० मत आवश्यक पर्ने भएकाले विश्वासको मत सुनिश्चित नभए राजीनामा दिन कांग्रेसकै केही सांसदले सुझाव दिएका छन् ।
काठमाडौंमा रहेका कांग्रेस सांसदहरूलाई धनगढी फर्कन मुख्यमन्त्री शाहले आग्रह गर्नुभएको छ । उनीहरू कैलाली फर्किएपछि आजको संसदीय दलको बैठकले विश्वासको मत लिने वा राजीनामा दिने विषयमा अन्तिम निर्णय गर्ने बताइएको छ ।
यसैबीच, एक मन्त्रीका अनुसार मुख्यमन्त्री शाहले आज साँझ प्रदेशसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारीसमेत गर्नुभएको छ ।










प्रतिकृया दिनुहोस