पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा मध्यराति प्रहरी कार्यालयअघि पत्रकारको धर्ना
बिर्तामोड, २८ साउन ।
जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारिता क्षेत्र आन्दोलित भएको छ ।
ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
श्रेष्ठको पक्राउको विरोधमा पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मीहरू मध्यराति काठमाडौं प्रहरी परिसर पुगेका थिए । उनीहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरे ।
पत्रकारहरूले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन् । उनीहरूले समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न सकिने भन्दै पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुने भन्दै पत्रकार महासंघलगायतका संस्थाले सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले पत्रकारलाई निर्भीक रूपमा समाचार लेख्ने र प्रकाशित गर्ने वातावरण बनाउनसमेत माग गरे










प्रतिकृया दिनुहोस