कङ्गोमा इबोला तीब्र गतिमा फैलिँदै, नियन्त्रण चुनौतीपूर्ण : डब्लुएचओ

विर्तामोड, ३ भदौ । 
डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो) मा इबोला प्रकोप तीव्र गतिमा फैलिन थालेपछि नियन्त्रण चुनौतीपूर्ण बनेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले इबोलाको यो प्रकोप विगतका अन्य प्रकोपभन्दा तीव्र गतिमा फैलिरहेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सङ्क्रमण फैलिने जोखिम उच्च रहेको चेतावनी दिनुभएको छ । उहाँले प्रकोप नियन्त्रणमा अझै धेरै समय लाग्ने बताउनुभयो ।
डीआर कङ्गोले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार करिब पाँच हजार जना सङ्क्रमितमध्ये दुई हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । देशका उत्तरी तथा पूर्वी क्षेत्रमा सङ्क्रमण बढी देखिएको छ ।
कमजोर स्वास्थ्य पूर्वाधार, राज्यको सीमित उपस्थिति र लामो समयदेखि सक्रिय सशस्त्र समूहका कारण प्रभावित क्षेत्रमा रोग नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ । हालसम्म डीआर कङ्गोका ६ वटा प्रान्तमा इबोला देखिएको छ भने छिमेकी युगान्डामा समेत सङ्क्रमित भेटिएका छन् ।
डब्लुएचओका अनुसार डीआर कङ्गोमा जनस्वास्थ्य जोखिमको स्तर ‘अत्यधिक उच्च’ रहेको छ । छिमेकी मुलुकका लागि जोखिम ‘उच्च’ र अफ्रिकाका अन्य भाग तथा विश्वका लागि ‘न्यून’ रहेको जनाइएको छ ।
डीआर कङ्गोले गत मे १५ मा आफ्नो १७औँ इबोला प्रकोप घोषणा गरेको थियो। यसअघि सन् २०१८ देखि २०२० सम्मको प्रकोपमा दुई हजार दुई सय ९९ जनाको मृत्यु भएको थियो । पश्चिम अफ्रिकामा सन् २०१३ देखि २०१६ सम्म फैलिएको इबोला प्रकोपमा भने ११ हजार तीन सयभन्दा बढीको मृत्यु भएको थियो । ०००००
 

प्रतिकृया दिनुहोस