इरानद्वारा खाडी देशलाई कडा चेतावनी

तेहरान, ३ भदौ ।
इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग अमेरिकी सैन्य गतिविधिका लागि प्रयोग गर्न दिने कुनै पनि खाडी मुलुकलाई इरानविरुद्धको सैन्य कारबाहीमा सहभागी भएको मानिने चेतावनी दिएको छ ।
इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाहीले अमेरिकी सेनालाई दिइने सहयोग वा सुविधा अमेरिकी सैन्य कारबाहीमा सहभागितासरह हुने बताउनुभएको मेहर समाचार एजेन्सीले जनाएको छ ।
अमेरिकी सैन्य गतिविधिका लागि खाडी मुलुकको भूभाग वा सैन्य आधार प्रयोग भए त्यसलाई इरानविरुद्धको प्रत्यक्ष संलग्नताका रूपमा लिइने उहाँको चेतावनी छ । अमेरिकी सैन्य आधारमा तैनाथ हुने विमान तथा अन्य सैन्य गतिविधिबारे सम्बन्धित देशलाई जानकारी वा सहमति नहुने सम्भावना न्यून रहेको भन्दै उहाँले इरानविरुद्ध आफ्नो भूभाग प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएका खाडी मुलुकलाई समेत सावधान गराउनुभएको छ ।
इरान र अमेरिकाबीच फेब्रुअरी २८ देखि युद्ध जारी रहेको बताइएको छ । अमेरिका–इजरायलको आक्रमणपछि इरानले जवाफी कारबाही गर्दै क्षेत्रभर रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको बताइएको छ ।
यसैबीच, अमेरिकी नौसेनाको ‘युएसएस जर्ज वासिङ्टन’ विमानवाहक युद्धपोत मध्यपूर्वमा पुनः तैनाथ गर्ने तयारी गरिएको छ । ‘युएसएस अब्राहम लिङ्कन’ को स्थान लिन उक्त युद्धपोत पठाउन लागिएको हो ।
अमेरिकी सैन्य उपस्थितिसँगै खाडी क्षेत्रमा तनाव बढिरहेका बेला इरानको पछिल्लो चेतावनी आएको हो । खाडी मुलुकहरूले आफूहरू इरानविरुद्धको युद्धमा प्रत्यक्ष संलग्न नरहेको बताउँदै आए पनि अमेरिकी सैन्य आधार र गतिविधिको विषयमा तेहरानले ती देशमाथि दबाब बढाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस