युक्रेनमा युद्धकै बीच चुनाव गराउन माग 

किएभ, ३ भदौ ।
रुससँग युद्ध जारी रहेका बेला युक्रेनमा शासन प्रणाली नै सङ्कटमा परेको भन्दै अपदस्थ रक्षामन्त्री मिखाइलो फेडोरोभले युद्धकै बीच चुनाव गराउन माग गर्नुभएको छ ।
राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका निकट सहयोगीमध्ये एक मानिनुभएका फेडोरोभले लामो युद्धका बीच पनि लोकतान्त्रिक प्रक्रिया पुनःस्थापित गर्न कानुनी, सुरक्षित र व्यावहारिक उपाय खोज्नुपर्ने बताउनुभएको हो ।
युक्रेनी कानुनअनुसार देशमा मार्सल ल लागू रहेसम्म चुनाव गराउन रोक लगाइएको छ । रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेको सन् २०२२ को फेब्रुअरी २४ देखि युक्रेनमा मार्सल ल लागू छ ।
फेडोरोभले वर्तमान शासन प्रणाली आत्मरक्षा र परिवर्तनको प्रतिरोधमा केन्द्रित भएको आरोप लगाउँदै सरकारी निकायमा व्याप्त भ्रष्टाचारको समेत आलोचना गर्नुभएको छ । युद्धका बेला हुने भ्रष्टाचारले युक्रेनको युद्ध लड्ने क्षमतालाई कमजोर बनाउने उहाँको भनाइ छ ।
उहाँले रक्षा बजेटको प्रत्येक रिभ्निया देशको सुरक्षामै खर्च हुनुपर्ने बताउँदै आफूलाई पदबाट हटाइनुको एउटा कारण रक्षा मन्त्रालयको खरिद प्रणालीमा आफूले नेतृत्व गरेको भूमिका पनि भएको दाबी गर्नुभएको छ ।
फेडोरोभको आह्वान नयाँ रक्षामन्त्री मनोनयन गरिएको केही घन्टापछि आएको हो । उहाँलाई पदबाट हटाइएपछि राजधानी किएभमा सरकारविरुद्ध प्रदर्शनसमेत हुँदै आएका छन् ।
युद्धकै बीच चुनाव गराउने विषय भने युक्रेनमा सुरक्षा, कानुनी र राजनीतिक रूपमा जटिल मानिन्छ । फेडोरोभको पछिल्लो आह्वानले युद्धसँगै लोकतान्त्रिक प्रक्रिया र शासन प्रणालीबारे युक्रेनभित्रको बहसलाई थप तीव्र बनाएको छ । ०००००

प्रतिकृया दिनुहोस