राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन
काठमाडौँ, ३ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३ आवश्यकता अनुसार संशोधन गर्न कार्यदल गठन गर्ने भएको छ ।
आज बसेको पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछाने, शीर्ष नेता, मन्त्री तथा सांसदहरूबीच संसद र सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा अनौपचारिक छलफल भएको थियो ।
उक्त बैठकमा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलले सात दिनभित्र विधान संशोधनको प्रस्ताव तथा आवश्यक कार्यविधि तयार गर्ने विषयमा छलफल भएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार दलको विधान संशोधनमा सांसदको संसदीय मर्यादा, जिम्मेवारी, जनपक्षीय आवाज उठाउने तथा कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने विषय समेटिनेछ ।
यस्तै, बैठकमा सांसदहरूले जनताका गुनासा तथा मन्त्रालयगत विषय उठाएका थिए भने मन्त्रीहरूले आफ्नो मन्त्रालयअन्तर्गतका कामबारे जानकारी गराउनुभएको थियो । बैठकमा सरकारका कामकारबाही जनतासमक्ष पु¥याउँदा देखिएका दूरी तथा कमजोरी पहिचान गर्ने र सुधार गर्ने विषयमा समेत छलफल भएको थियो । ०००००











प्रतिकृया दिनुहोस