चार महिनामा ११ हजारभन्दा बढी सरकारी कर्मचारी कारबाहीमा 

काठमाडौँ, ३ भदौ । 
राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना सरकारी कर्मचारीलाई कारबाही गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको केन्द्रले सरकारी कार्यालयमा अनुशासन कायम गर्न अनुगमन र कारबाहीलाई तीव्र बनाएको हो ।
केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म ९२४ वटा सरकारी कार्यालयको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा आचारसंहिता तथा समय पालना नगर्ने १० हजार २६८ जना, तोकिएको पोशाक नलगाउने ६४५ जना र कार्यकक्षमा नभेटिएका ९१ जना कर्मचारी कारबाहीमा परेका छन् ।
केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार सो अवधिमा सरकारी कार्यालय तथा कर्मचारीसँग सम्बन्धित एक हजार २९८ उजुरी दर्ता भएका थिए । त्यसमध्ये एक हजार ११४ अर्थात् ८५ दशमलव ८२ प्रतिशत उजुरी फछ्र्योट गरिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ७२ प्रतिशत विन्दुले बढी हो ।
यसअघि २०८१ चैतदेखि २०८२ साउनसम्म ३१८ कार्यालयको अनुगमन गर्दा दुई हजार ७७५ जना कर्मचारीले अनुशासन उल्लङ्घन गरेको पाइएको केन्द्रले जनाएको छ ।
सरकारी सेवालाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउन केन्द्रले आगामी दिनमा छड्के जाँच, निगरानी तथा अनुसन्धानमा डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता र डेटा विश्लेषणको प्रयोग बढाउने जनाएको छ ।
सरकारी कर्मचारीले आचारसंहिता पालना नगरेको, काममा लापरबाही गरेको वा शंकास्पद सम्पत्तिसम्बन्धी गुनासा भए राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन ०१४२००३४५ मा जानकारी गराउन सकिने केन्द्रले जनाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस