गौतम बुद्ध विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा
रुपन्देही, १४ असोज ।
राज्यको ठूलो लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे चार वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायात तथा अन्य व्यवसायमा लगानी गरेका रुपन्देहीका व्यवसायीले अब नयाँ सरकारबाट नियमित उडानका लागि ठोस पहलको अपेक्षा गरेका छन् ।
करिब ३५ अर्ब रुपैयाँ लागतमा निर्माण भएको विमानस्थलबाट विभिन्न समयमा केही अन्तर्राष्ट्रिय वायुसेवाले उडान गरे पनि ती नियमित हुन सकेका छैनन् । पर्यटन व्यवसायी सागर अधिकारीका अनुसार विमानस्थल सञ्चालन हुने र लुम्बिनीमा पर्यटक आगमन बढ्ने अपेक्षामा निजी क्षेत्रले राज्यको लगानीभन्दा दोब्बरभन्दा बढी रकम लगानी गरेको छ । तर, नियमित उडान नहुँदा अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको उहाँको भनाइ छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले विगतमा पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान हुन नसकेको बताउनुभयो । नयाँ सरकार गठन भएपछि भने विमानस्थललाई प्राथमिकतामा राखेर कम्तीमा एउटा वायुसेवाबाट नियमित उडान सुरु गराउन सकिने आशा पलाएको उहाँले बताउनुभयो । गौतम बुद्ध विमानस्थलबाट हालसम्म ६९ हजार ३७७ यात्रुले अन्तर्राष्ट्रिय सेवा लिएका छन् । यस अवधिमा एक हजार २२२ वटा निर्धारित तथा चार्टर अन्तर्राष्ट्रिय उडान भएका छन् । पछिल्लोपटक सन् २०२६ मार्च २५ मा थाइ एयर एसियाले बैङ्कक–भैरहवा उडान गरेको थियो । त्यसयता भने कुनै अन्तर्राष्ट्रिय उडान भएको छैन ।
विमानस्थलका सूचना अधिकारी पवन अग्रहरीका अनुसार तत्कालका लागि अन्तर्राष्ट्रिय उडानको नयाँ तालिका प्राप्त भएको छैन । सरकारले वायुसेवा आकर्षित गर्न पार्किङ र इन्धनमा विभिन्न छुट तथा सहुलियत दिए पनि भिसा केन्द्र, स्वास्थ्य परीक्षण, बिमा र म्यानपावरलगायतका सेवा सहज नहुँदा समस्या रहेको व्यवसायीको गुनासो छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले नियमित दुबई उडान सुरु गरेपछि भैरहवाका व्यवसायीमा पनि आशा बढेको छ । लुम्बिनी आउने अन्तर्राष्ट्रिय पर्यटक, रोजगारी र स्थानीय व्यापार–व्यवसाय विस्तारका लागि गौतम बुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ । ०००००



..jpeg)








प्रतिकृया दिनुहोस