जापानमा पदक जित्ने नेपाली कराते टोली स्वदेश फिर्ता
काठमाडौं, १४ असोज ।
जापानमा आयोजित दुई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीसहितको टोली स्वदेश फर्किएको छ । जापानको नागोयामा भएको २०औँ एसियाली खेलकुद र योकोहामामा आयोजित ११औँ सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागी नेपाली टोली पदकसहित स्वदेश फर्किएको हो ।
दुवै प्रतियोगितामा नेपालबाट तीन पुरुष र पाँच महिला गरी आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एसियाली खेलकुदअन्तर्गत करातेमा तेन्जिङ शेर्पाले पुरुष ८४ केजीमाथि कास्य पदक जित्नुभयो । उहाँले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा लाओसका खेलाडीलाई ९–१ ले पराजित गर्नुभएको थियो। तेन्जिङ २०औँ एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने पहिलो खेलाडीसमेत बन्नुभयो ।
त्यस्तै, योकोहामामा भएको प्रतियोगितामा नेपालले दुई स्वर्ण, एक रजत र तीन कास्य गरी छ पदक जितेको छ । महिला ६८ केजीमाथि एरिका गुरुङ र पुरुष ६० केजीमुनि राकेश मानन्धरले स्वर्ण पदक जित्नुभयो । महिला ६८ केजीमुनि निरूपा दोङ तामाङले रजत तथा पुरुष ६७ केजीमुनि मिनबहादुर तामाङले कास्य पदक हात पार्नुभयो ।
एरिका र निरूपाले महिला टिम कुमुतेमा पनि कास्य जित्नुभयो। मेघा लिम्बू, एलिसा रास्कोटी मगर र सानुमाया थिङसहितको टोलीले महिला टिम कातामा पनि कास्य पदक प्राप्त ग¥यो ।
स्वदेश फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, नेपाल कराते महासङ्घका पदाधिकारी, खेलाडी तथा परिवारजनले स्वागत गर्नुभएको थियो । टोलीसँगै व्यवस्थापक तथा प्रशिक्षकहरू पनि स्वदेश फर्किनुभएको छ । ०००००












प्रतिकृया दिनुहोस