फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक साफ च्याम्पियनसिपबाट बाहिर


बिर्तामोड, १५ असोज । 
नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनसिपको आगामी संस्करण गुमाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समयसीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुंगिएको हो ।
बंगलादेशमा आगामी नोभेम्बर ५ देखि १७ तारिखसम्म हुने १५औँ साफ च्याम्पियनसिपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन । फिफाले गत असारमा अखिल नेपाल फुटबल संघलाई निलम्बन गरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिने अवस्था बनेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले एन्फामाथि निलम्बनको कारबाही गरेको थियो । निलम्बन फुकुवाका लागि एन्फाको स्वायत्तता कायम गर्नुपर्ने र आफ्नो विधानअनुसार निर्वाचन प्रक्रिया अघि बढाउन पाउनुपर्ने फिफाको मुख्य सर्त रहेको छ ।
तर एन्फा र सरकारी निकायबीचको विवाद समाधान हुन नसक्दा फिफाको निलम्बन कायमै छ । यसको प्रत्यक्ष असर नेपाली राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय सहभागितामा परेको हो । साफ च्याम्पियनसिप स्थापना भएयता नेपालले पहिलोपटक यो प्रतियोगिता गुमाउन लागेको हो । यसअघि नेपालले साफ च्याम्पियनसिपका सबै संस्करणमा सहभागिता जनाउँदै आएको थियो ।
साफ च्याम्पियनसिप गुमेसँगै नेपाल यस वर्षको महत्वपूर्ण क्षेत्रीय फुटबल प्रतियोगिताबाट समेत बाहिरिएको छ । 


 

प्रतिकृया दिनुहोस