तनहुँको घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र एक बेलिब्रिजमा क्षति


बिर्तामोड, १५ असोज । 
अविरल वर्षापछि आएको बाढीपहिरोले तनहुँको घिरिङ गाउँपालिकामा सात वटा झोलुङ्गे पुल र एउटा बेलिब्रिजमा क्षति पु¥याएको छ । बाढीपहिरोका कारण भिमाद–रामपुर सडकखण्डसमेत प्रभावित भएको छ । बाढीपहिरोबाट गाउँपालिकाका विभिन्न स्थानमा भएका क्षतिको अवस्था बुझ्न जिल्ला सुरक्षा समितिको टोलीले बुधबार स्थलगत अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापालगायतको टोलीले क्षतिग्रस्त पुल तथा सडकको निरीक्षण गरेको हो । पुल र सडकमा क्षति पुगेपछि स्थानीयवासीको आवागमन प्रभावित भएको छ । विशेषगरी झोलुङ्गे पुलमा भएको क्षतिले विभिन्न बस्तीबीचको सम्पर्क टुटेको छ भने बेलिब्रिज र सडकमा भएको क्षतिले यातायात सञ्चालनमा कठिनाइ भएको छ । अनुगमन टोलीले क्षतिग्रस्त संरचनाको अवस्थाबारे जानकारी लिँदै तत्कालीन व्यवस्थापन र पुनःनिर्माणका लागि आवश्यक समन्वयबारे छलफल गरेको छ ।
यसैबीच, कालीगण्डकीमा आएको भीषण बाढीले पहुँचमार्ग बगाएपछि अवरुद्ध घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिका–डेढगाउँ जोड्ने पुलको स्थलगत निरीक्षण तथा सर्भे गरिएको छ । घिरिङ गाउँपालिकाको समन्वयमा सडक विभाग दमौलीको प्राविधिक टोलीले सुरक्षाकर्मी र जनप्रतिनिधिको रोहवरमा पुलको नापजाँच गरी आवश्यक विवरण सङ्कलन गरेको हो । घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीले सर्भे सम्पन्न भएसँगै तत्काल वैकल्पिक व्यवस्था र पुल पुनःनिर्माणको काम अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस