देउवा पक्षीय कांग्रेसको समानान्तर वडा अधिवेशन आजदेखि सुरु

बिर्तामोड, १५ असोज । 

बिर्तामोड, १५ असोज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय समूहले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्ने भएको छ । संस्थापन पक्षले यही असोज १८ गतेदेखि महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा पक्षले समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको हो ।  देउवा पक्षले आफ्नो महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ । सोहीअनुसार असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यक्रम तय गरिएको समूहका नेताले जनाएका छन् ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिले महाधिवेशन गर्न नहुने माग गर्दै आएको देउवा पक्षले संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाएपछि आफ्नै कार्यतालिका बनाएर अधिवेशन थालेको हो । देउवा पक्षका नेता किरणराज पौडेलका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत खटाइसकिएको छ । वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजकसमेत खटाइएको समूहले जनाएको छ । महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताउँदै नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई उत्साह र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गर्नुभएको छ । देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै कांग्रेसको आधिकारिक कार्यसमिति भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन । 
 

प्रतिकृया दिनुहोस