सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गर्ने ट्राफिक प्रहरीको तयारी
बिर्तामोड, १५ असोज ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सवारीसाधनलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन रुट परमिटसँगै अग्निनियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी गरेको छ। यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सार्वजनिक सवारीसाधनको नियमित अनुगमन र सुरक्षा मापदण्डको कार्यान्वयनमा कडाइ गर्न लागिएको हो ।
यसका लागि सम्बन्धित निकायसँग समन्वय गरी सार्वजनिक सवारीसाधनको अवस्था, आवश्यक कागजात, रुट परमिट तथा सुरक्षा उपकरणको नियमित परीक्षण गरिने ट्राफिक प्रहरीले जनाएको छ। आवश्यक अनुमति नलिई वा तोकिएको रुटभन्दा बाहिर सवारी सञ्चालन गर्ने गतिविधि नियन्त्रण गर्नसमेत अनुगमनलाई प्रभावकारी बनाइनेछ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सबै सार्वजनिक सवारीसाधनमा प्रयोगयोग्य अवस्थामा रहेको अग्निनियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । विद्युतीय तथा प्राविधिक समस्या र इन्धन चुहावटका कारण जुनसुकै बेला आगलागी हुनसक्ने भएकाले प्रारम्भिक अवस्थामै आगो नियन्त्रण गर्न सवारीसाधनमा अग्निनियन्त्रक यन्त्र राख्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीले सवारीसाधनको अवस्था, चालकको क्षमता, आवश्यक कागजात, रुट परमिट तथा अग्निनियन्त्रक यन्त्रको प्रयोगयोग्यताबारे नियमित अनुगमन गरिने जानकारी दिनुभयो । अनुगमनका क्रममा सुरक्षा मापदण्ड पूरा नगरेका सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइने उहाँले बताउनुभयो । चाडपर्वलगायतका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप र सवारी आवागमन बढ्ने भएकाले दुर्घटना तथा अन्य जोखिम न्यूनीकरण गर्न सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको ट्राफिक प्रहरीको भनाइ छ ।
ट्राफिक प्रहरीले सवारीधनी तथा व्यवसायीलाई प्रचलित कानुन पालना गर्न, सवारीसाधनको नियमित परीक्षण र मर्मतसम्भार गर्न तथा यात्रुको सुरक्षामा लापरबाही नगर्न आग्रह गरेको छ ।











प्रतिकृया दिनुहोस