डिजेल निर्यात रोक्ने बहसबीच युरोपलाई भण्डार तयारी अवस्थामा राख्न अमेरिकाको आग्रह
बिर्तामोड, १६ असोज ।
बढ्दो इन्धन मूल्य नियन्त्रण गर्न डिजेल निर्यातमा प्रतिबन्ध लगाउनेबारे बहस भइरहेका बेला अमेरिकाले युरोपेली देशलाई आफ्नो रणनीतिक डिजेल भण्डार तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युरोपेली साझेदार देशलाई रणनीतिक डिजेल भण्डारबाट थप इन्धन तत्काल बजारमा पठाउन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । बढ्दो मूल्यको भार अमेरिकी किसान, ढुवानी व्यवसायी र अन्य व्यवसायीमा पर्न नहुने उहाँले बताउनुभएको छ ।
अमेरिका विश्व बजारमा डिजेलको प्रमुख आपूर्तिकर्ता हो र दैनिक करिब १५ लाख ब्यारेलसम्म डिजेल निर्यात गर्दै आएको छ । अमेरिकाले निर्यात रोक्ने निर्णय गरे विश्व बजारमा आपूर्ति प्रभावित भई मूल्य अझ बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेल निर्यात रोक्ने विषयमा गम्भीर रूपमा विचार भइरहेको बताउनुभएको छ । यसैबीच बेलायतले सम्भावित अमेरिकी निर्यात प्रतिबन्धको असरबारे युरोपेली साझेदारसँग छलफल गरेको छ । बेलायतमा डिजेलको मूल्य यो साता हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
युरोपेली आयोगका अनुसार डिजेल आपूर्तिबारे अमेरिका र युरोपका उच्च अधिकारीबीच निरन्तर छलफल भइरहेको छ । इन्धनको मूल्य बढ्नुमा इरान युद्ध, हर्मुज जलमार्ग बन्द हुनु र रुसबाट डिजेल निर्यातमा आएको प्रतिबन्धलाई प्रमुख कारण मानिएको छ ।












प्रतिकृया दिनुहोस