चीनमा चुम्बकीय शक्तिको प्रयोग गरी ट्र्याकभन्दा माथि तैरिएर चल्ने म्याग्लेभ रेलको विश्व कीर्तिमान
चीन, २८ साउन ।
चीनमा चुम्बकीय शक्तिको प्रयोग गरी ट्र्याकभन्दा माथि तैरिएर चल्ने म्याग्लेभ रेलले नयाँ विश्व कीर्तिमान कायम गरेको छ । प्रयोगात्मक म्याग्लेभ ट्रेनले शून्यबाट ८ सय किलोमिटर प्रतिघण्टाको गति जम्मा ५ दशमलव ३ सेकेन्डमै हासिल गरेको हो ।
चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईस्थित डोङ्हु प्रयोगशालाको १ किलोमिटर लामो परीक्षण ट्र्याकमा १ हजार १ सय किलोग्राम तौलको रेलको सफल परीक्षण गरिएको हो । योसँगै उक्त प्रयोगात्मक रेलले ६ महिनाभित्रै तेस्रोपटक आफ्नै गति कीर्तिमान तोडेको छ ।
म्याग्लेभ अर्थात् ‘म्याग्नेटिक लेभिटेसन’ प्रविधिमा पाङ्ग्रा र ट्र्याकबीच प्रत्यक्ष घर्षण हुँदैन । चुम्बकीय शक्तिका कारण रेल ट्र्याकभन्दा केही माथि तैरिने भएकाले अत्यधिक गति हासिल गर्न सकिन्छ ।
परीक्षणका क्रममा ८ सय किलोमिटर प्रतिघण्टाको उच्च गति हासिल गरेपछि रेललाई थप २ सय मिटरभित्रै सुरक्षित रूपमा रोकिएको थियो । यसले उच्च गति नियन्त्रण र आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
हाल चीन र जापानमा सञ्चालनमा रहेका व्यावसायिक म्याग्लेभ रेलहरू करिब ३ सय २० देखि ३ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन हुँदै आएका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार नयाँ प्रविधि तत्काल यात्रु ओसारपसारका लागि नभई भविष्यमा रकेट तथा लडाकु विमानको प्रक्षेपण प्रणाली र भ्याकुम–ट्युब ट्रेन निर्माणमा प्रयोग गर्ने उद्देश्यले विकास भइरहेको छ । यद्यपि, यसका लागि आवश्यक पूर्वाधारको उच्च लागत र सुरक्षा चुनौती भने अझै प्रमुख विषयका रूपमा रहेका छन् । ०००००












प्रतिकृया दिनुहोस