हर्मुजको जलघाँटी अझै बन्द रहेको इरानको दाबी
विर्तामोड, २८ साउन ।
इरानले हर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गर्दै जलमार्ग अझै अवरुद्ध रहेको जनाएको छ । इरानले आफ्ना सर्त पूरा नभएसम्म हर्मुज पूर्ण रूपमा नखोलिने स्पष्ट पारेको छ ।
पर्सियन गल्फ स्ट्रेट अथोरिटीले सामाजिक सञ्जालमार्फत अमेरिकी अधिकारीहरूले हर्मुज अवरुद्ध नरहेको भन्दै गरेका दाबीले वास्तविक अवस्था परिवर्तन नगर्ने जनाएको छ । उसका अनुसार जलघाँटी अझै बन्द छ । र, इरानका सर्त स्वीकार भएपछि मात्रै पुनः खोलिनेछ ।
इरानको यस्तो प्रतिक्रिया राष्ट्रपति ट्रम्पले हर्मुजमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको र त्यसलाई कायम राख्ने बताएको केही घण्टापछि आएको हो । ट्रम्पले अमेरिकी नौसेनाको उपस्थितिलाई ‘स्टिलको पर्खाल’ को संज्ञा दिँदै इरानले त्यसविरुद्ध केही गर्न नसक्ने दाबी गर्नुभएको थियो ।
यसैबीच इरानका अधिकारीहरूले हर्मुजमाथि आफ्नो नियन्त्रण रहेको दाबीसमेत गरेका छन् । इरानी पक्षका अनुसार रणनीतिक जलमार्गमा जहाजको आवागमन अझै सामान्य अवस्थामा फर्किएको छैन ।
हर्मुजको जलघाँटी विश्वव्यापी ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो । विश्वको पेट्रोलियम व्यापारको ठूलो हिस्सा यही मार्गबाट हुने भएकाले यहाँको लामो अवरोध वा सैन्य तनावले कच्चा तेलको मूल्य, ढुवानी र विश्वव्यापी आपूर्ति प्रणालीमा प्रत्यक्ष असर पार्न सक्छ ।
पछिल्लो तनाव इरान, इजरायल र अमेरिकाबीच जारी सैन्य द्वन्द्वपछि थप चर्किएको हो । तनावका कारण जलक्षेत्रमा नौसैनिक गतिविधि र सुरक्षा निगरानी बढेको छ भने व्यापारिक जहाजको आवागमन पनि सामान्य अवस्थाभन्दा निकै कम रहेको अन्तर्राष्ट्रिय रिपोर्टहरूले जनाएका छन् ।
इरानले आफ्ना माग पूरा नभएसम्म हर्मुज पूर्ण रूपमा नखोल्ने अडान लिएपछि अमेरिका र इरानबीचको दाबी–प्रतिदाबी थप चर्किएको छ । जलमार्ग नियमित रूपमा खुलाउने विषयमा कूटनीतिक प्रयास जारी रहे पनि हर्मुज आसपासको सुरक्षा अवस्था अझै अस्थिर रहेको छ । ०००००












प्रतिकृया दिनुहोस