धरान उपमहानगरपालिकाको २ अर्ब ७६ करोडको बजेट पारित

बिर्तामोड, २९ साउन । 
धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँबराबरको बजेट पारित गरेको छ ।
हिजो सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो ।
कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गर्नुभएको बजेटमा नगर कार्यपालिकातर्फ २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार र २० वटा वडा कार्यालयका लागि २८ करोड ७० लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ९९ करोड ५० लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ ४९ करोड ८६ लाख ८२ हजार र स्वास्थ्यतर्फ १२ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
खाल्डाखुल्डीमुक्त नगर कार्यक्रमका लागि ४ करोड, भानुचोक सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माणका लागि १ करोड र सभागृह निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, धरान अस्पताल सञ्चालनका लागि २ करोड, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यका लागि ५० लाख तथा एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रम पनि बजेटमा समेटिएको छ ।
आर्थिक विकासतर्फ ६ करोड ८० लाख र वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । विपद् व्यवस्थापन कोषका लागि मात्रै २ करोड रुपैयाँ छुट्याइएको छ ।
धरानको खानेपानी समस्या समाधानका लागि चतरा–कोशी नदीबाट पानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारी गर्न ३ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको कार्यवाहक नगरप्रमुख बेघाले जानकारी दिनुभएको छ । 
 

प्रतिकृया दिनुहोस