उदयपुर सिमेन्ट उद्योग सङ्कटमा, भ्रष्टाचारदेखि कमजोर व्यवस्थापनसम्मको असर
उदयपुर, ३० साउन ।
उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा निर्माण भएको कारखाना र बजारमा स्थापित ‘गैँडा छाप’ ब्रान्ड हुँदाहुँदै उदयपुर सिमेन्ट उद्योग अहिले गम्भीर सङ्कटमा परेको छ ।
गाईघाटको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान दिएको उद्योगमा भ्रष्टाचार, व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप र व्यक्तिगत तथा समूहगत स्वार्थ हाबी हुँदा उद्योग क्रमशः धराशायी बन्दै गएको देखिएको छ ।
यसको पछिल्लो उदाहरण हो—बोरा अभावमा महिनौँदेखि उत्पादन भएको सिमेन्ट गोदाममै थन्किनु। उद्योगका अनुसार १० लाख बोरा आपूर्ति गर्ने जिम्मा पाएको चितवनको आशीर्वाद पोली प्याक्सले करिब पाँच लाख २७ हजार बोरा आपूर्ति गरेपछि गत चैतमा बोरा आपूर्ति रोकेको थियो। उद्योगले भुक्तानी गर्न नसकेपछि आपूर्ति रोकिएको र पछि अनुरोध गरेपछि थप ५३ हजारभन्दा बढी बोरा उपलब्ध गराइएको उद्योगका प्रशासन प्रमुख गम्भीरजङ्ग खत्रीले बताउनुभएको छ ।
तर आपूर्तिकर्ता कम्पनीले भने उद्योगसँग अझै ठूलो रकम लिन बाँकी रहेको दाबी गरेको छ । दुई पक्षबीच बक्यौता रकमबारे फरक–फरक दाबी देखिनुले उद्योगको वित्तीय व्यवस्थापन कति कमजोर छ भन्ने प्रश्न उठेको छ ।
उद्योगमा महँगो मूल्यमा कोइला खरिद भएको विषय पनि विवादमा छ । निजी क्षेत्रले प्रतिटन करिब १९ देखि २० हजार रुपैयाँमा कोइला खरिद गरिरहेका बेला उदयपुर सिमेन्टले २५ देखि ३० हजार रुपैयाँसम्ममा कोइला खरिद गरेको विवरण छ । भन्सार तथ्याङ्कअनुसार सोही समयमा प्रतिटन करिब १३ हजार रुपैयाँमा कोइला आयात भइरहेको थियो। यसले खरिद प्रक्रियामै गम्भीर प्रश्न उठाएको छ ।
कोइलाको गुणस्तर र मापदण्डमा समेत चलखेल हुने गरेको आरोप छ । उद्योगका लागि आवश्यक कोइलाको गुणस्तर निर्धारण गर्ने जिसिभी र ‘मोस्चर’ मापदण्डमा समेत प्रश्न उठ्ने गरेको बताइएको छ ।
त्यस्तै, किलसेल मेसिन खरिद र ढुवानीका क्रममा भएको दुर्घटनाले उद्योगलाई करोडौँको क्षति पु¥याएको छ । दुई वर्षअघि ६० मिटर लामो किलसेलमध्ये २० दशमलव ८ मिटरको भाग ल्याउने क्रममा दुर्घटना हुँदा पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ । दुर्घटनामा क्षतिग्रस्त मेसिनका तीन टुक्रा अहिले पनि अलपत्र अवस्थामा छन् ।
उद्योगसँग सम्बन्धित भ्रष्टाचार र अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी र अनुसन्धानको चाङ छ । आयोगले उद्योगसँग सम्बन्धित छवटा विषयमा अनुसन्धान गरिरहेको छ । तीमध्ये केही विषयमा मुद्दा दायर भइसकेका छन् भने अन्य विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ ।
उद्योग धराशायी हुनुमा पुरानो प्रविधि र मेसिनरी पनि प्रमुख कारण देखिएको छ। खानी उत्खननदेखि कारखाना सञ्चालनसम्म पुरानै प्रविधिमा निर्भर रहँदा रोप–वे, कोल मिल र नियन्त्रण प्रणालीलगायतका उपकरण समयअनुसार सुधार हुन सकेका छैनन् । यसले उत्पादन लागत बढाउनुका साथै उत्पादकत्व घटाएको छ ।
खानीबाट चुनढुङ्गा निकाल्ने पुरानो ब्लास्टिङ प्रणालीका कारण विस्फोटक पदार्थ, सुरक्षा र सेना परिचालनमा समेत ठूलो खर्च हुने गरेको छ । जबकि उद्योगसँग नेपालकै उत्कृष्टमध्ये मानिने विशाल चुनढुङ्गा खानी छ ।
उदयपुरको सुकौरा अर्थात् सिन्धुवा क्षेत्रमा रहेको खानीमा करिब सात करोड ३५ लाख मेट्रिक टन उत्पादनयोग्य चुनढुङ्गा रहेको अध्ययनले देखाएको छ । हालसम्म करिब ४० लाख मेट्रिक टन मात्रै उत्खनन भएकाले ठूलो हिस्सा अझै उपयोग हुन बाँकी छ ।
उक्त खानीको चुनढुङ्गामा म्याग्नेसियम अक्साइड अर्थात् एमजिओ औसत १ दशमलव ५ प्रतिशत मात्रै रहेको बताइएको छ । क्याल्सियम अक्साइडको मात्रा पनि ५२ प्रतिशतभन्दा बढी छ । यही कारण अन्य खानीको तुलनामा कम मात्रामा चुनढुङ्गा प्रयोग गरेर पनि गुणस्तरीय सिमेन्ट उत्पादन गर्न सकिने अवस्था छ ।
तर यही महत्त्वपूर्ण खानीको लाइसेन्ससमेत २०८१ साल असोजमा राजस्व नबुझाएको कारण खानी तथा भूगर्भ विभागले खारेज गरेको थियो। उद्योगले ७४ लाख रुपैयाँ राजस्व नबुझाएको कारण देखाइएको थियो। त्यसपछि खानीको स्वामित्व र उपयोगलाई लिएर विभिन्न स्वार्थ समूह सक्रिय भएको आरोपसमेत लागेको छ ।
हाल भने सरकारले बाँकी राजस्व बुझाएर खानीको लाइसेन्स नवीकरण गरिसकेको छ । यससँगै खानी अन्य कम्पनीको हातमा जाने सम्भावनामा तत्कालका लागि रोक लागेको छ ।
उद्योगमा कमजोर व्यवस्थापन, बारम्बार नेतृत्व परिवर्तन, राजनीतिक हस्तक्षेप, युनियनबाजी, जनशक्ति व्यवस्थापनको समस्या र उच्च कर्मचारी लागतले पनि उत्पादनमा असर पारेको बताइएको छ । दक्ष प्राविधिक जनशक्ति अवकाश हुँदै जाने तर प्रशासनिक प्रकृतिको जनशक्ति बढी रहने अवस्थाले उत्पादकत्वमा थप समस्या पारेको छ ।
पुराना उपकरणका कारण विद्युत् खपतसमेत बढी हुने गरेको छ । ऊर्जा अडिट र प्रणाली सुधारमार्फत घटाउन सकिने खर्चमा पर्याप्त ध्यान नदिइएको देखिन्छ ।
त्यसैगरी, उच्च गुणस्तरको क्लिङ्कर उत्पादन क्षमता हुँदाहुँदै त्यसको व्यावसायिक उपयोग, क्लिङ्कर बिक्री तथा विभिन्न प्रकारका सिमेन्टको बजार विस्तारमा समेत उद्योगले प्रभावकारी रणनीति बनाउन सकेको छैन ।
हाल उदयपुर सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता आठ सय मेट्रिक टन रहेको छ । सरकारले उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी थालेको र महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउने जनाएको छ ।
अब चुनौती भनेको नयाँ नेतृत्वले वर्षौँदेखि थुप्रिएका वित्तीय, प्राविधिक र व्यवस्थापकीय समस्या समाधान गर्दै उद्योगलाई पुनः प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन सक्नु हो। स्रोत, साधन र बजारको सम्भावना हुँदाहुँदै पनि व्यवस्थापनकै कमजोरीले थला परेको उद्योगलाई सुधार्न अब तत्कालीन निर्णयभन्दा दीर्घकालीन व्यावसायिक योजना आवश्यक देखिएको छ । ०००००












प्रतिकृया दिनुहोस