राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले बढ्यो, खुद मुनाफा ४ अर्ब ५५ करोड 

काठमाडौं, २९ साउन ।
राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० दशमलव ६८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकको खुद मुनाफा २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार कर्जा लगानी र आम्दानीमा भएको वृद्धि तथा सम्भावित जोखिमका लागि छुट्याइने इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा उल्लेख्य वृद्धि भएको हो ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १७ दशमलव ८५ प्रतिशतले बढी हो । त्यस्तै, कुल सञ्चालन आम्दानी १४ दशमलव १९ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
करअघिको खुद सञ्चालन नाफा पनि ६४ दशमलव २६ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्ष वितरणयोग्य मुनाफा नरहेकोमा यस वर्ष १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ ।
गत असार मसान्तसम्म बैंकको कुल निक्षेप ६ खर्ब ८६ अर्ब १३ करोड र खुद कर्जा तथा सापट ३ खर्ब ४० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ३७ दशमलव ११ प्रतिशत र कर्जा तथा सापट १२ दशमलव ५० प्रतिशतले बढेको छ ।
बैंकको निष्क्रिय कर्जा अनुपात ३ दशमलव ९५ प्रतिशत, ब्याजदर अन्तर ३ दशमलव ३७ प्रतिशत र प्रतिशेयर आम्दानी २९ रुपैयाँ १४ पैसा रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ वटै जिल्लाबाट वित्तीय सेवा दिइरहेको छ । बैंकका ३ सय १६ शाखा, ३ सय ३५ एटिएम र १ लाख ४८ हजार क्यूआर मर्चेन्ट सञ्चालनमा छन् । बैंकले २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्तासहित ४८ लाख ७० हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस