भारतले आज ८०औँ स्वतन्त्रता दिवस मनाउँदै

बिर्तामोड, ३० साउन । 
भारतले आज ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ । स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित ऐतिहासिक लालकिल्लाबाट बिहान ७ बजेर ३० मिनेटमा राष्ट्रिय झण्डा फहराएर देशवासीलाई सम्बोधन गर्नुहुनेछ ।
लालकिल्लाबाट प्रधानमन्त्री मोदीको यो लगातार १३औँ स्वतन्त्रता दिवस सम्बोधन हुनेछ । सम्बोधनअघि उहाँले तीनवटै सुरक्षा निकाय र दिल्ली प्रहरीका जवानबाट बनेको ‘गार्ड अफ अनर’को सलामी लिनुहुनेछ ।
झण्डोत्तोलनका क्रममा स्वदेशी १०५ एमएम लाइट फिल्ड गनबाट २१ तोपको सलामी दिइने कार्यक्रम छ । प्रधानमन्त्रीको सम्बोधनपछि एनसीसीका क्याडेट र ‘माई भारत’का स्वयंसेवकले ‘वन्दे मातरम्’ प्रस्तुत गर्नेछन् भने त्यसपछि राष्ट्रगान बजाइनेछ ।
समारोहमा करिब २७ हजार मानिस सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सहभागीमा विभिन्न क्षेत्रका करिब पाँच हजार विशेष अतिथि, सर्वसाधारण तथा युवा रहनेछन् ।
यसैबीच, स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जाल एक्समार्फत देशवासीलाई शुभकामना दिनुभएको छ ।
उहाँले स्वतन्त्रता दिवसले देशका वीर स्वतन्त्रता सेनानीको साहस, संघर्ष र मातृभूमिप्रतिको समर्पण स्मरण गराउने उल्लेख गर्दै उनीहरूका आदर्श आत्मसात् गरेर ‘विकसित भारत’को संकल्प पूरा गर्न आह्वान गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस