भारतीय प्रधानमन्त्री मोदीद्वारा युवालाई निःशुल्क कोचिङ र एआई तालिमको घोषणा 

दिल्ली, ३० साउन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने युवाका लागि निःशुल्क अनलाइन कोचिङ कक्षा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ ।
भारतको स्वतन्त्रता दिवसका अवसरमा शनिबार नयाँदिल्लीस्थित लालकिल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले निःशुल्क कोचिङले विद्यार्थी र उनीहरूका परिवारमाथिको आर्थिक बोझ घटाउने बताउनुभयो ।
मोदीका अनुसार डिजिटल सार्वजनिक पूर्वाधार तथा दक्ष शिक्षक र शिक्षाविद्को सहयोगमा विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि अनलाइन कक्षा सञ्चालन गरिनेछ ।
भारतमा चिकित्सा प्रवेश परीक्षालगायत विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा प्रश्नपत्र चुहावट र भर्नामा अनियमितताको विरोधमा पछिल्लो समय विद्यार्थीले प्रदर्शन गर्दै आएका थिए । ती प्रदर्शन शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि टुङ्गिएका थिए ।
सरकारी कलेजमा प्रवेशलाई रोजगारी र आर्थिक सुरक्षाको महत्वपूर्ण माध्यम मानिने भारतमा विद्यार्थीहरू वर्षौँसम्म प्रवेश परीक्षाको तयारी गर्ने गरेका छन् । त्यसका कारण निजी कोचिङ उद्योगसमेत तीव्र रूपमा विस्तार भएको छ ।
महँगो कोचिङको खर्चले परिवारमाथि ठूलो आर्थिक भार पर्ने गरेको भन्दै मोदीले निःशुल्क अनलाइन कक्षाबाट विशेषगरी गरिब र मध्यमवर्गीय परिवारका विद्यार्थीलाई राहत पुग्ने बताउनुभयो । परिवारबाट टाढा गएर महँगो कोचिङ लिनुपर्ने बाध्यता पनि कम हुने उहाँको भनाइ छ ।
यसैबीच, मोदीले आगामी एक वर्षभित्र भारतका एक करोड युवालाई आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईसम्बन्धी सीपको तालिम दिने योजना समेत घोषणा गर्नुभएको छ ।
विद्यार्थी आन्दोलनपछि सरकारले युवालाई लक्षित गर्दै विभिन्न कदम अघि बढाएको छ । संसदले परीक्षामा प्रश्नपत्र चुहावट गर्नेलाई हुने सजायसमेत बढाएको छ ।
विश्लेषकहरूले पछिल्ला विद्यार्थी प्रदर्शनलाई सन् २०१४ मा मोदी सरकार सत्तामा आएयताका सरकारसामु देखिएका महत्वपूर्ण चुनौतीमध्ये एकका रूपमा व्याख्या गरेका छन् । ०००००
 

प्रतिकृया दिनुहोस